एमाले नेता पशुपति चौलागाईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि

|

काठमाडौं । नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
त्यस्तै, पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ ।
कोरोना संक्रमणबाट मंगलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान् र इमानदार नेता थिए ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलगाईं वि.सं. २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।
उनको निधनले दोलखाका साथै सिंगो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।

तस्वीर: सामाजिक संजालबाट

२०७८ बैशाख २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।