
काठमाडौँ — पौडीमा तहल्का मच्चाइरहेकी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।
स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।
फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्, ‘अत्यन्तै खुसी छु । फोर्ब्स थर्टी अन्डर ३० एसियाको क्लास अफ २०२१ मा छनोट भएको घोषणा गर्न पाउँदा एकदमै खुसी छु । म साँच्चिकै प्रतिभावान् र धैर्य मानिसहरूसँगै सम्मानित भएकी छु । र, म खेलकुदमा महिला र मेरो देश दुवैको प्रतिनिधित्व गर्न सक्षम भएकी छु ।’ गरिमा राणा र पारस सिंहका पहिलो सन्तान गौरिका स्वदेशमा जन्मिएपछि लन्डनमा हुर्किइन् र उतै स्वीमिङ करिअरलाई अगाडि बढाएकी हुन् ।
गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत हुन् ।
उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ ।पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् ।
उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो ।