पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

|

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोखरेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष (महिला)का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (समावेशी)मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले तीन हजार ८६० मत र सुबोध गौतमले ८९९ मत प्राप्त गर्नुभएको छ ।

सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी हुँदा रामकृष्ण ज्ञवालीले तीन हजार २१ मत, जन्मदेव जैशीले एक हजार १२७ र यम विरहीले ७५७ मत प्राप्त गर्नुभएको छ । सचिव (महिला)मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त गर्दा शाहीमान राईले तीन हजार २८९ र रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवालले पाँच हजार ६७८ मत पाउँदा कृष्ण गिरीले तीन हजार २७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाउनुभयो । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाउनुभयो ।

सचिव (मधेशी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गर्नुभयो । सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित हुनुभयो । सचिव एशोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गर्नुभयो ।

सदस्य खुलामा छविलाल तिवारीले चार हजार ९०० मत र वासुदेव शर्माले पाँच हजार ९१ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै माधव पौडेल पाँच हजार ९४, रमेश खतिवडा चार हजार ६५९ र शिवराज खत्रीले चार हजार ३५९ मत प्राप्त गरी खुला सदस्यमा जित निकाल्न सफल हुनुभयो । सदस्य (महिला) खस–आर्यमा सरिता तिम्सिनाले चार हजार ८९१, सदस्य (महिला) मधेशीमा ललिताकुमारी साहले पाँच हजार ७८६, सदस्य (महिला) आदिवासी जनजातिमा शान्ता आङबुहाङले पाँच हजार ५८८, सदस्य आदिवासी जनजातिमा भिसन राईले चार हजार ८६८ मत प्राप्त गर्दा आदिवासी जनजाति महिला सदस्यमा सन्चकुमारी लामा तामाङले पाँच हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभयो ।

लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे ७९२ र सुशील पोखरेलले ६३६ मत प्राप्त गरी विजयी हुनुभयो । कर्णाली प्रदेश सदस्यमा दीपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंह ३३३ मत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तरसिंह विष्ट ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी विजयी हुनुभयो । उपत्यका सदस्यमा शन्तराम बिडारीले एक हजार २०८ र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गर्दा, प्रतिष्ठान सदस्यमा मणि दाहाल ४९१ र रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पत्रकारको साझा संस्थाका रूपमा रहेको महासङ्घको मर्यादालाई थप विस्तारित गर्ने दृढता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०७७ चैत्र २८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।