३ लाख ९५ हजार ८ सय ८८ रुपैयाको चेक हस्तान्तरण

|

बाँके / नेपालगन्जमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि नेपाल शिक्षक महासंघ नगर समितिले झण्डै चार लाख रुपैयाँको आर्थिक सहयोग गरेकोछ। नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिको आव्हानमा नगर क्षेत्रका सम्पुर्ण शिक्षकहरुबाट उपलब्ध एकदिनको तलब बराबरको रकम संकलन गर्दै सोमबार एक कार्यक्रमबीच सो आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। नेपालगन्ज उप-महानगरपालिकामा स्थापित “प्रकोप व्यवस्थापन कोष”मा दाखिला हुने गरि संकलित रकम ३ लाख ९५ हजार ८ सय ८८ रुपैयाको चेक शिक्षक महासंघ नगर अध्यक्ष मनोजराजा श्रीवास्तवले नेपालगन्ज नगर प्रमुख डा.धवलसम्शेर राणालाई सो अवसरमा हस्तान्तरण गर्नुभएको थियो।
उक्त चेक ग्रहण गर्दै नगर प्रमुख राणाले कोरोना संक्रमण व्यवस्थापनका लागि शिक्षक महासंघको सहयोगी भुमिकाप्रति आभार प्रकट गर्नुभयो।उहाँले यो रकमले संक्रमण व्यवस्थापन कार्यमा ठूलो मद्दत पुग्ने बताउनु भयो। कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य द्रोण वलीले केन्द्रीय समितिको सोचलाई आत्मसाथ गर्दै नगर शिक्षक महासंघमार्फत भएको संकलन कार्य नमुना भएको बताउनु भयो।नेपाली शिक्षकहरु हरेक परिस्थितिमा हातेमालो गर्दै आएको स्मरण गर्दै केन्द्रीय सदस्य वलीले स्थानीय तहबाट शिक्षकका यथासक्य समस्या समाधानका लागि पनि आग्रह गर्नु भयो।
नगर अध्यक्ष मनोजराजा श्रीवास्तवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिका उप प्रमुख उमा थापा मगरलगायतले मन्तव्य राख्नु भएको थियो। सो अवसरमा नगर शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, नेपाल शिक्षक संघ बाँके अध्यक्ष वीरेन्द्र यादव ,नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके अध्यक्ष बामदेव सुवेदीसहित विभिन्न पेशागत संस्थाहरुका अध्यक्ष, प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो। नगर सचिव केशवराज शर्माले संचालन गर्नुभएको उक्त सहयोग हस्तान्तरण कार्यक्रमलाई शिक्षक नेता कंचन आचार्यले स्वागत गर्नु भएको थियो।

२०७७ जेष्ठ २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।