सुर्खेत / शिक्षा, अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्य-पश्चिमान्चल विश्वविद्यालय, नेपाल र सिजिआजुङ टाईडाओ विश्वविद्यालय, चीन विच सम्झौता सम्पन्न भएको छ । २०७७ जेठ २१ का दिन मध्य-पश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र सिजिआजुङ टाईडाओ विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा. डा. फेंङ वेन्ची द्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अन्तर्गत दुवै विश्वविद्यालयविच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुनेछ । यो सम्झौता पश्चात मध्य-पश्चिमान्चल विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरि पढ्न सक्नेछन् भने स्नातकोत्तर र विद्यावारिधी अध्यनका लागि विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।
अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाईका लागि प्राध्यापक समेत आदान-प्रदान हुनेछन् । यस सम्झौताको मुख्य उदेश्य विश्वविद्यालय अन्तर्गतका फ्याकेल्टि तथा दोहोरो शैक्षिक सम्बन्ध विकास रहने कुरा उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो सम्झौता हस्ताक्षर भएको मितिवाट ५ वर्षका लागि मान्य हुनेछ भने सो पश्चात यसको प्रभावकारिता र आवश्यकता अनुसार थप गरिने प्रावधान रहेको छ । सिजिआजुङ टाईडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनियरिंङ संग सम्बन्धित चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो । यो सहकार्य पश्चात मध्य-पश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।