नेपालगन्जमा पहिलोपटक ‘चिया उत्सव’ हुदै

|

नेपालगन्ज / नेपालगन्जमा पहिलोपटक ‘चिया उत्सव’ हुदै छ । आगामी आइतबार भिन्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले १४ फेब्रुअरी भ्यालेन्टाइनको दिनमा चिया उत्सवको आयोजना गर्न लागेको हो । भिन्टेज कलेजले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवका बारेमा जानकारी दिएको हो । टि फेस्टिभल भिन्टेज कलेजमा अध्ययनरत विद्यार्थीले संचालन गर्ने छन् । सो चिया उत्सवको मुख्य प्रायोजकमा उपकार चिया रहेको छ ।

सम्मेलनमा टि फेस्टिभलकी संयोजक जया घले गुरुङ्गले उत्सवमा रोज म्यारी, रोज टी, कावा, ह्वाइट टीलगायत विभिन्न २० प्रकारका चिया फेस्टिभलमा राखिने जानकारी गराईन । त्यसैगरि ईभेन्ट प्रमुख स्वस्तिका शाहीले नेपालगन्जमा चियाको बारेमा जानकारी गराउन यो चिया उत्सव कार्यक्रमको आयोजना गरेको बताईन् ।
पत्रकार सम्मेलनमा भिन्टेज कलेजका प्रिन्सिपल गजेन्द्र मल्लले चियाका बारेमा धेरै कुरा थाहा नभएको उल्लेख गरे । मल्ले भने, ‘बाँकेमा चिया उत्पादन हुँदैन तर चिया पारखी भने धेरै छन् । यहाँ चियाको रंग कालो हुन्छ भन्ने मात्र थाहा छ । हामिले ग्रीन टि पनि खान जानेका छैनौ । यहाँसम्मकी हामीलाई चिया कसरी बनाइन्छ भन्ने पनि थाहा छैन ।’

मल्लले चिया नेपालको पुरानो परिकार भएतापनि चियाबाट हामीले फाइदा लिन नसकेको उनले गुनासो गरे । ‘चियाका धेरै प्रकार छन् । चियाले हाम्रो शरीरमा धेरै फाइदा गर्छ । चिया किसानसँग सम्बन्धित भएकाले चियाको विकास र माग बढाउन सके चौतर्फी फाइदा हुन्छ,’ मल्लले भने । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सन्तोष थापाले चिया हाम्रो दैनिकी र सांस्कृतिक पाटो भएको बताए । उनले भने, ‘चिया हरेक नेपालीको घरमा बन्ने गर्छ । हामीकहाँ पाहुना आउँदा हामीले पहिलो सत्कार चियाबाट नै गर्छौ । तर चियाको विकासमा हामी पछि परेका छौं ।’

सम्मेलनमा विश्व साइकल यात्री पुष्कर शाहले चियाका प्रकार र यसका फाइदाका बारेमा जानकारी फैलाउन सके चियाबाटै व्यवसायिक फट्को मार्न सकिने उल्लेख गरे । नेपालगन्जमा हाल पाँच÷६ प्रकारका चियामात्र पाउने प्रिन्सिपल मल्लले बताए । उनले फेस्टिभलमा राखिने सबै चियाको मूल्य ३० रुपैयाँ तोकिने जानकारी दिए । आयोजकले फेस्टिभलमा बिक्री हुने हरेक कप चियाबाट १० रुपैयाँ द्वन्द्वपीडित विद्यार्थीहरुका लागि छुट्याइने बताएको छ ।

२०७७ माघ २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।