हिमपातपछि हुम्लाको लिमी गाउँ ५ महिनाका लागि बन्द

|

हुम्ला / जिल्लामा केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिका अन्तर्गतको लिमी गाउँ पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । उक्त गाउँमा प्रवेश गर्ने दुईवटा नाका छन । हिमपात परे पछि प्रवेश गर्ने दुबै नाका बन्द भए पछि आर्को कुनै विकल्प नरहेका कारण गाउँमा आवजाव पाँच महिनाका लागि बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी बताउनुभयो । हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको ४६०० मिटर अग्लो नारा लेक र ५००० मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको हो ।

यी दुवै नाकामा चार देखि पाँच फिट सम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएको हुँदा दुवै बाटा अब आगामी जेठ महिनामा मात्रै खुल्ने छन् । नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुने भए पछि लिमी सञ्चार सम्पर्क समेत विहीन भएको छ । यद्यपि बेलाबेला आउजाउ भइरहने वर्ल्डलिङ्कको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।

सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प नरहेको स्थानियले बताउँछन् । हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामान देखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको छ ।

२०७७ माघ १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।