क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) दाङ शाखाको अध्यक्षमा रोशनी मल्ल

|

दाङ/ क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) दाङ शाखाको अध्यक्षमा रोशनी मल्ल भएकी छिन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) दाङ शाखा अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षता एवं क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे लुम्बिनी प्रदेश संयोजक लीला शाहको प्रमुख आतिथ्यतामा शनिवार घोराहीमा भएको अधिवेशनले रोशनी मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा शर्मिला डिसी, कोषाध्यक्षमा दीप्तिशिखा चौधरी, सहसचिवमा यमकला भुसाल चयन भएका छन् । अधिवेशनले निरला अर्याल, मीना खड्का, रेखा शर्मा, सीता पौडेल, देवी भण्डारी र सुशीला वलीलाई सदस्यमा चयन गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पत्रकार महिलाहरुले पत्रकारिताको आदर्श, मूल्य, मान्यतालाई अक्षरस पालना गर्दै पेशाप्रतिको वफादारी र इमान्दारितालाई बचाइराखेको बताएकी थिइन् । पत्रकार महिलाहरुको संख्यात्मक बृद्धिसँगै गुणात्मक र सहभागिता पनि बढ्ने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताइन् ।

कार्यक्रममा क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे दाङ शाखाका संस्थापक अध्यक्ष बसुन्धरा गौतमले पछिल्लो समय पत्रकार महिलाहरु पलायन हुँदै गएको र पत्रकारितामा आकर्षण पनि कम देखिएको बताएकी थिइन् । गौतमले पत्रकारितामा रोजगारीको ग्यारेन्टी नहुँदा र न्यूनतम पारिश्रमिकका कारण पत्रकार महिलाहरु पत्रकारितामा टिक्न चुनौती भएको बताइन् ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे दाङ शाखाका सल्लाहकार लक्ष्मी आचार्यले मूल्य, मान्यताको पत्रकारितालाई पत्रकार महिलाहरुले जोगाएर राख्न आवश्यक रहेको बताइन् । सल्लाहकार सुलोचना गौतमले आर्थिक तथा पारिवारिक समस्याका कारण पनि पत्रकार महिलाहरु पलायन हँुदै गएको बताइन् ।

क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे दाङ शाखाका सल्लहाकार रञ्जिता शर्माले संस्थालाई क्रियाशील बनाउन आवश्यक रहेको बताइन् । पत्रकार महासंघका सहसचिव शर्मिला डिसीले पत्रकार महिलाका मुद्दामा एक भएर लाग्नुपर्ने बताएकी थिइन् । रोशनी मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् ।

२०७७ पुष १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।