सकारात्मक सन्देश प्रवाह गर्ने समाचार प्रवाह गर्नु पर्ने मन्त्री गुरुङको जोड

|

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यमहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह समेत गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पदाधिकारीसँग आईतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्धन्द्ध र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए ।

मन्त्री गुरुङले भने, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन् द्धन्द्ध होइन् अराजकता होइन् नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नु पर्दछ ।’समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यवसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाई छ ।

भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुदान सहायता कटौति नगर्न, सरकारी सञ्चार माध्यमको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्ने लगायतका ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएको थियो । सो ज्ञापन पत्र बुुझ्दै उनले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने बताए । कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

२०७७ पुष १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।