कृषि पेशालाई व्यवसायिक बनाउन बीमा सहजकर्ता तालिम सुरु

|
सन्धिखर्क / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजनामा सन्धिखर्कमा बीमा सहजकर्ता श्रोत व्यक्ती विकास तालिमको शुभारम्भ भएको छ ।
तालिमको जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसालले उद्घाटन गर्नुभएको थियो । ३ दिन सम्म चल्ने तालिमको दीप प्रज्वलन गरी उद्घाटन गर्दै भुसालले किसानलाई बिभिन्न बिपद् तथा जटिल परिस्थितीमा सहजता प्रदान गर्न बीमाले किसानलाई महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
भुसालले बीमामा किसानलाई आर्कषित गर्न राज्यले प्रोत्साहन गर्दै आएको भन्दै उहाँले जिल्लाका सबै वडामा सहजकर्ताले सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले किसानहरुको क्षतिको क्षतिपूर्ती तिर्ने र किसानलाई व्यवसायिकता तर्फ डो¥याउन बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भुसालले सन्धिखर्क नगरपालिकाले किसानलाई प्रोत्साहित गर्न बिभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै सन्धिखर्क नगरपालिका मासु र दुधमा आत्मनिर्भर भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले व्यवसायको क्रममा हुने सम्भाबित जोखिमलाई निर्मुल पार्न बीमाले महत्वपूर्ण कदम चाल्ने बताउनुभयो । पौडेलले बीमाको सदुपयोग गराउन श्रोत व्यक्तीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो ।
कार्यक्रममा तरकारी जोन समन्वय समितिका संयोजक सरोज भुसाल, बरिष्ठ कृषि अर्थ बिज्ञ तिर्थराज श्रेष्ठ, बरिष्ठ कृषि विकास अधिकृत घनश्याम चौधरी, पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायतले तालिमको सफलताको शुभकामना मन्तब्य राख्दै बीमालाई प्रभावकारी रुपमा जिल्लामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमको उद्घाटन शत्रको सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका मनोज आचार्यले गर्नुभएको थियो ।

२०७७ पुष १६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।