आज गुरुङ समुदायले तमु ल्होसार र किराँतले उधौली पर्व मनाए

|

काठमाडौं । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाएका छन् । तमु (गुरुङ) समुदायले तमु ल्होसार सीमित व्यक्तिमाझ मनाउने भएका छन् । यो चाड हरेक पुस १५ गते मनाउँदछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् । तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो ।

तर यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम नहुने छोंजधिका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपटक धेरै कार्यक्रमहरू भर्चुअल जुम प्रविधिबाट राखिएको छ । संस्थाको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराइएको उहाँले बताउनुभयो । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ । उहाँका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् ।

यस्तै, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँनुहुन्छ ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला ९भूमे० लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

२०७७ पुष १५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।