नेपालगन्ज / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेकोले पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र उक्त मुद्दा सर्वोच्चमा रहेको उल्लेख गर्दै थापाले संविधान हेरेर अदालतबाट न्याय मिल्ने विश्वास पनि गरेका छन् ।
नेपालगन्जमा आज सोमबार कांग्रेसले गरेको विरोध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस सानदार ढंगले जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर प्रधानमन्त्री ओलीले चुनाव घोषणा नगरेको पनि बताए ।
‘केपी ओलीले सानदार ढंगले कांग्रेस जित्ला र संसदमा ताली बजाएर स्वागत गरौंला भनेर चुनाव घोषणा गरेका होइनन्,’ थापाले भने, ‘कुनै अलमल नगरी जनताका बीचमा तपाईंहरू जानुहोस् ।’ राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि ठूलो प्रहार गरेको थापाको भनाइ छ । उनले अदालतमाथि भरोसा रहेको पनि बताए ।






