पार्टी भित्रैबाट असहयोग र घेराबन्दी गरिएकाले संसद विघटन गर्न बाध्य : ओली

|

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा छिरेर प्रचण्डले आफूलाई कार्बाही गर्ने कुरा कसैले नपत्याउने भन्दै यो भएमा विश्वमै दुर्लभ घटना हुने बताउनुभएको छ।

प्रचण्डलाई एकतामा आउदा दोस्रो अध्यक्ष दिईए पनि त्यो उपाध्यक्ष सरह भएकाले उपाध्यक्षहरुले भेला गर्ने र कार्बाही गर्ने कुरा संभव छैन, ओलीले भन्नुभएको थियो ।

वालुवाटारमा आफू निकटका सांसदहरुलाई सम्बोधन गर्दै उहाँले देशी विदेशी र खास गरी पार्टी भित्रैबाट असहयोग र घेराबन्दी गरिएकाले संसद विघटन गर्नु परेको भन्दै अब सरकारले गरेको राम्रो कामको प्रचार गर्दै चुनावमा जान सबैलाई आग्रह गर्नुभयो ।

ओलीको भनाइ थियो- ‘खै कसले अनुशासनको कारवाही गर्ने रे भन्ने सुनेँ, प्रचण्डले मलाई के कारवाही गर्नु ? मैले उनको भन्दा १० वर्षअघि पार्टी सदस्यता लिएको हुँ ।

यस्ता कारवाही त सीपी र आरके मैनालीले मलाई २०२८ सालमा पनि गरेका थिए । तर, पछि प्रहरीले खोज्ने बेला मलाईनै पार्टीको कमाण्डर ठानेर खोज्यो ।

पार्टी एकतामा सिन्को नभाचेर उल्टै सरकारलाई असहयोग गरेर कामै गर्न नदिएको भन्दै ओलीले अब केन्द्रीय कमिटिको बैठक आफूले बोलाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको वताउनु भएको हो ।

उहाँले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको वताउनु भएको थियो ।

मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको उहाँले सुनाउनुभयो ।

२०७७ पुष ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।