रेशम चौधरीलाई जन्मकैद, जिल्ला अदालतको फैसला सदर

|

कैलालीको टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ ।

कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको हत्याको मुद्धामा उनीहरुलाई अभियुक्त बनाईएको थियो ।

चौधरी उपर डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् ।

सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय सुनाइएको छ ।

उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्विकारेका थिए ।
घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ ।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ। विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ ।

रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो । करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।

रेशम चौधरी हाल डिल्लीबजार कारागारमा सजाय भोगिरहेका छन् भने जन्मकैदको फैसला सुनाइएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई  जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।

ट्विटरमा प्रतिक्रिया दिदैं भट्टराईले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दिई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकलम दाहाललाई संकेत गर्दै यस्तो फैसला आउनु अन्यायपूर्ण भएको बताएका छन्।

२०७७ पुष २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।