नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउदै

|

भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नुभएको छ ।

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गर्नुभएको हो ।

यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।

यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको जनाइएको छ ।

नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारीलगायत कारण यति लामो समय मन्दिर बन्द रहेको इतिहास वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभो।

भीडभाड नगरी दर्शन गरेर फर्कन पनि कोषले अनुरोध गरेको छ साथै कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन आह्वान गरेको छ ।

२०७७ मंसिर ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।