
दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले दैलेखको नौमुले गाउँपालिका– द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको छ ।
पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए ।
थुनामा रहेको अवस्थामा पुन तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट बन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए। पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भइसकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेको थियो ।