प्लान इन्टरनेशनल नेपालद्धारा खाना, पानी र मास्क वितरण

|

बाँके / प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले भारतबाट नेपाल आउनेहरुलाई आजदेखि जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण शुरु गरेको छ । भारतबाट स्वदेश फर्किने ३० हजार जनालाई सो खाना पाानी र मास्क वितरण गर्ने लक्ष्य राखेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए । भारतबाट फर्किनेहरु भोकै प्यासै र मास्क समेत नलगाएर फर्किने गरेकोले उनिहरुलाई सहज होस भनेर खाना, पानी र मास्क वितरण शुरु गरिएको उनले बताए । विहिबार विहान नेपाल भारत नाका जमुनाहामा प्रदेशसभाका सभासद कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमुख एसपी विर बहादुर ओली र शसस्त्र प्रहरीका एसपी दिपक अधिकारी लगायतले भारतबाट आउनेहरुलाई खाना पानी र मास्क वितरण गरेका थिए ।

अहिले जमुनाह नाकाबाट दैनिक दुई हजार हाराहारीमा नेपालीहरु प्रवेश गरिरहेका छन् । उनिहरुलाई नाकाबाटै सिधै गाडीमा हालेर सम्बन्धित जिल्ला र पालिकाहरुसम्म पुरयाउने व्यवस्थापन मिलाईएको छ । बाँकेका नागरिकलाई महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा राखिने गरिएको छ भने अन्यलाई सम्बन्धित जिल्लामा सोझै पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले बताए । विहिबार दिउँसोसम्म ६ सय बढीलाई सो खाना, पानी र मास्क वितरण गरिसकिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए । विहानदेखि साँझ अबेरसम्म वितरण कार्य जारी राखिने चौधरीले जानकारी दिए ।

२०७७ जेष्ठ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।