शिक्षक राजेन्द्र कुमार श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा

|

सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको शव आफन्तले बुझेका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि बुधबार आफन्तले श्रेष्ठको शव
बुझेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार पोष्टमार्टम पछि छोरा छत्रले राजेन्द्रको शव बुझेका हुन । शवको बिहीबार बिहान अन्त्येष्टि गरिने आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

श्रेष्ठको हत्या पोंछि आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीब्र पारेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको विप्लव समूहले मंगलबार बिहान अपहरण पछि जंगलमा लगेर हत्या गरेको थियो ।

शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा डुबेको छ । स्थानीय सरस्वी आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी हुन् ।

आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि हत्या गरेको विप्लव समूहले दाबी गरेको छ ।

विभिन्न संघ संगठनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । शिक्षक संघ संगठन, मानव अधिकारवादी संस्थाहरु, राजनीति दल, स्थानीय संघ संस्था, नागरिक समाजसमेतले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेका दोषीमाथि कारवाहीको माग गरेका छन् ।

यस घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले माग गरेको छ।

साथै, विप्लव समूहले उठाएका जनताका मुद्दा वार्ता र संवादका माध्यमबाट सम्बोधन गरी समस्या समाधानका लागि तदारुकता देखाउन सरकारलाई आग्रह समेत गरेको छ ।

 

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।