
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ वर्षीया रिम्की गुरुङले तिम्ल्याह शिशु जन्माउनु भएको छ।
गुरुङले जिल्ला अस्पताल धादिङमा मंगलबार तीन छोरीलाई जन्म दिनु भएको हो ।
धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसुती सेवा लिन आएकी गुरुङको अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउँदा तीन शिशुको जन्म भएको हो ।
आमा र तीनै जना शिशुको अवस्था अहिले सामान्य रहेको छ । जटिल प्रकारको उक्त प्रसुती सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ ।
नवजात शिशुहरुको अवस्था सामान्य रहेको र उनीहरुको तौल १८००, १५०० र २५०० ग्राम रहेको छ ।
अस्पतालले सयौं जनालाई प्रसुती सेवा दिईसकेको भएपनि शल्यक्रियाबाट एकैपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी बिक्रम बिकले जानकारी दिनुभयो ।