
बाँके / वडा प्रहरी कार्यालय, बाँके, बाल सन्जाल तथा युवा सन्जालको संयुक्त आयोजनामा नेपालगन्जको वडा नं. ४ बसपार्कमा रहेका होटल तथा पसलमा बालश्रम सम्बन्धि पहिलो चरणको अनुगमन गरिएको छ । नेपालगन्जमा आइतबार गरिएको अनुगमनको क्रममा होटलहरुमा बालश्रम हुने गरेको पाईएको अनुगमन टोलीका ऋतिक शाहीले बताए । नेपालगन्जको पुष्पलाल चोक देखी बसपार्क सम्म गरिएको अनुगमन कार्यक्रममा बसपार्क वरपर रहेका होटल ब्यवसायीहरुले बालबालिकाहरुलाई काममा लगाएको पाइएको छ । अनुगमनमा नेपालगन्जमा बालबालिकाहरु बालश्रममा लाग्न बाध्य भएको पाईएको छ । लकडाउनमा बिदाको समय रहेको र विद्यालयहरु बन्द रहेकोले काम गरेको बताए ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएका सई धन बहादुर थापा सहितको प्रहरी टोलि तथा बाल क्लब सञ्जाल र युवा कल्ब सञ्जालका पदाधिकारीको सहभागिता रहेको थियो । सो अनुगमनमा साहिल अन्सारी, श्वेता गुरुङ, निलिशा गिरी, दिपा सुनार,मोहम्मद सलमा सल्मानी लगायतको सहभागिता रहेको थियो ।
बालबालिकाहरुलाई काममा नलगाउनु र बालबालिकाहरुलाई काममा लगाएपनी स्थानीय तह अथवा उपमहानगरपालिकामा जानकारी गराउनु पर्ने सचेत गर्दै जनचेतना फैलाएका थिए । बालबालिकालाई काममा लगाउनु कानुनी अपराध रहेको र काममा लगाएको बालबालिकाको समेत विद्यालयमा पहुँच गराउन जरुरी रहेको बताए । सो अनुगमनलाई वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले सहयोग गरेका थिए ।