न्युयोर्कको अस्पतालमा कार्यरत ३३ बर्षका नेपाली डाक्टरको हृदयघातबाट निधन

|

अमेरिकाको न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका डाक्टर झाको निधनपछि परिवार शोकमा डुबेको छ ।

बिहान समेत विरामीको चेक गरेका उनको दिउसो अचानक हृदयघातबाट निधन भएको हो ।
काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका थिए ।

उनको केहीबर्ष अगाडिमात्र नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका उनले केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका थिए ।

उनको रेजिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

पुख्यौली घर धनुषाको देवपुरा रुपेठा रहेका रविन्द्र झा र कविता झाका छोरा डाक्टर रोशन झा काठमाडौंमा नै हुर्केका थिए ।

रोशनकी पत्नी स्वेता ठाकुरले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डेन्टल सर्जरीमा ब्याचलर गरेकी हुन् । हाल उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनकी विद्यार्थी हुन् ।

झाको परिवारको सहयोगका लागि गोफण्डबाट सहयोग संकलन भइसकेको छ ।
उनले ऋणधन गरेर पढेका र परिवारमा ३ लाख डलर ऋण भएकाले सहयोगका लागि रकम संकलन अभियान चलाइएको हो ।

कार्डियोलोजीमा आफ्नो करिअर खोजिरहेका उनले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर बिरामीहरुको सेवा गरेका थिए ।

२०७७ मंसिर १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।