भारतीय बिदेश सचिव हर्षबर्धन नेपालको औपचारिक भ्रमण मा आईपुगे

|

भारतका विदेशसचिव हर्षवर्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत आज विशेष विमानमार्फत काठमाडौँ उत्रनु भएको हो ।

आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्चाधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

उहाँले प्रमुख विपक्षी दल नेपाली काँग्रेसलगायत दलका उच्च नेतासँग भेट गर्नुहुने जनाइएको छ । भ्रमणकै क्रममा उहाँले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुने छ ।

विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा आजै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नुहुने छ । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ ।

विशेषगरी उहाँको यो भ्रमण नेपाल–भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुने छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँदिल्लीमा गर्ने तयारी भइरहेको छ ।

त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।

२०७७ मंसिर १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।