बिरामी बोकेको गाडी त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता

|

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी सूर्य बहादुर थापाका अनुसार भ्यानमा चालकसहित चार जना सवार थिए । एक जना भने पौडिएर बाँच्न सफल भएका छन् ।

लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट बिहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको हो ।

भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरुमा रोक्काका बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का, उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षका सूर्य के.सी. रहेका छन् ।

बेपत्ताको खोजी गर्न प्रहरी र सशस्त्र प्रहरी जुटेको डीएसपी थापाले बताउनुभयो ।

२०७७ मंसिर १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।