
खजुरा / लैगिंक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समुह( बि–ग्रुप ), बाँके युनेस्को क्लब, स्याक नेपाल , जनजागरण समाज लगायत विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा “म हिंसा गर्दिन, म हिंसा सहदिन“ को प्रतिक सेतो रिबन वितरण, लैंगिक हिंसा विरुद्धको जनचेतनामुलक ब्यानर प्रदर्शन, मृत्यु भएकाहरुको सम्मान र सम्झनामा दिप प्रज्वलनको आयोजना गरि आज अभियानको शुरुवात गरिएको छ ।
सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गतनै बाँकेको नेपालगन्ज, कोहलपुर लगायतका विभिन्न स्थानमा द्वीप प्रज्ज्वलन गरिएको छ ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकको सभापतित्वमा सम्पन्न द्वीप प्रज्ज्वलन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानमा लैङ्गिक हिंसाविरुद्ध धर्म गुरुहरुसँग छलफल तथा निबन्ध प्रतियोगिता, फोटो कम्पेटिशन जस्ता कार्यक्रम तय गरिएको महिला शाखा प्रमुख सुशिला न्यौपानेले बताउनुभयो ।