
बर्दिया / जंग्रार साहित्यिक बखेरीको १०औं बर्सगाँठको अवसरमा थारु भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिएको भन्दै पूवमन्त्री डा. गोपाल दहितलाई सम्मान गरिने भएको छ । सम्मान कार्यक्रम बखेरीको १०औं बर्सगाँठ यही पुष ३ र ४ गतेको दिन ठाकुरद्धारा बर्दियमा रहेको थारु होम रिसोर्टमा गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
स्रष्टा सम्मानको अवसरमा जिल्लागत हिसाबले बर्दियाबाट साहित्यकार सन्तराम धारकटुवा थारु, लेखिका तथा गायीका सुमित्रा चौधरी, लेखक तथा पत्रकार एकराज चौधरी, कैलालीबाट लेखक दिल बहादुर चौधरी र साहित्यकार शर्मिला चौधरी ‘सृष्टी’, दाङ्गबाट लेखक श्रीराम चौधरी र सुर्खेतबाट साहित्यकार मान बहादुर पन्नालाई समेत सम्मान गरिने जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जनाएका छन् । जंग्रार साहित्यिक बखेरीको स्थापना काले देखि संस्थाको उद्देश्य अनुसार दर्जनभन्दा बढी थारु भाषाको पुस्तक प्रकाशन र थारु भाषा साहित्यको संरक्षण र प्रवद्र्धनको लागि उल्लेखनीय अभियान चलाएको, थारुभाषी साहित्यकारहरुलाई जन्माएको कुरा संस्थाका संस्थापक संरक्षक सुशील चौधरीले जानकारी गराएका छन् । उनी भन्छन, जंग्रार साहित्यिक बखेरीको स्थापना पछि थारु साहित्यमा गुणात्मक विकास हुनुको साथै धेरै साहित्यिक संस्था पनि जुर्मुराएको र पुस्तक पनि संख्यात्मक र गुणात्मक बृद्धि भएको छ ।
पुषको ४ गते मनाउन लागिएको १०औं बर्सगाँठको अवसरमा कथा लेखन प्रतियोगिता र समीक्षा समेत गरिने अध्यक्ष सोम डेमनडौराले जनाएका छन् । उनी थप्छन, लगातार थारु भाषा र साहित्यको लागि काम गर्दै आएको जंग्रार साहित्यिक बखेरीले यो पटक पनि रणनीतिक योजना बनाउने र पुरुस्कार समेत स्थापना गर्ने भएका छौं । यसको लागि सम्बन्धित सबै साहित्यप्रेमी थारु भाषा, साहित्यको लागि योगदान दिनको लागि पुरुस्कार स्थापनाको लागि योगदान गर्न अनुरोध समेत गरिएको बताइएको छ ।