क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ ।
अब ढकालको पदावधि सन् २०२४ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो ।
२०१५ मा नियुक्त गरिएको अवैतनिक महावाणिज्यदूत पद अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।
महावाणिज्यदूत ढकाल तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ ।
संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्नमा ढकाल सकृय रहदै आउनुभएको छ ।
एकपटकको नेपाली, संधैको नेपाली अभियान अन्तर्गत दोहोरो नागरिकताको प्रावधानका लागि एनआरएन आइसीसीको समितिमा रहेर नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न पहल गर्ने एक अभियन्ताको रुपमा पनि ढकाल परिचित छन् ।
२००५ मा अमेरिका आउनु भएका ऋषिको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो ।
सन् २०१४ मा नेपाल सरकारका तर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ढकाललाई प्रदान गरिएको थियो ।
ढकाल परिवार सामाजिक कार्यमा पनि त्यतिकै सकृय छ । लसएन्जलसमा रहेको पशुपति फाउण्डेसनको स्थापनाको लागि ढकाल परिवारले फाउण्डेसनलाई ७५ हजार डलर आर्थिक सहयोग समेत गरेका थिए ।
नेपाल सरकारको तर्फबाट सानडियागो सहरका लागि अवैतनिक वाणिज्यदुतका हैसियतमा २०१३ मा नियुक्त ढकालले आफूलाई सानडियागो क्षेत्रमा मात्र सीमित नराखेर सिंगै क्यालिफोर्निया र खासगरी लसएन्जलस क्षेत्रमा उहाँ निकै सकृय रहदै आउनुभएको छ ।