कपिलवस्तु / कपिलवस्तु जिल्लाका केही सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवाहरुको चियागफबाट बनेको योजनाले मुर्त रुप लिएको छ । जिल्लाका केही युवाहरुको योजना अनुसार देशभरका जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई कारागारमै सकारात्मक सोचको विकास गराउने उद्धेश्यले उनीहरुलाई पुस्तकालय स्थापना गर्ने सोच युवा अभियान्ताहरुको थियो । सोही अनुसार आज कपिलवस्तुको जिल्ला कारागारमा १५० बढी पठनयोग्य पुस्तकहरु सहित कारागार पुस्तकालय स्थापना गरिएको अभियान्ता सुनिता बेल्वासेले जानकारि दिनुभएको छ कारागारमै पुस्तकालय भन्ने अभियानका साथ पुस्तक संकलनमा लागेका युवा अभियान्ताहरुले कपिलवस्तु मात्रै नभई देशभरका ७७ वटै जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाइै कारागारमै पुस्तकालय निर्माण गरिदिने योजनामा रहेको बताएका छन् ।
जिल्ला कारागार कपिलवस्तुमा पुस्तकालय स्थापना गर्दै प्रमूख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तुका युवाहरुको सोचलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासनबाट यी र यस्ता याजनाहरुमा सधै युवाहरुलाई सहयोगी भुमिका रहने पनि प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा नेपाली सेनाका मेजर ईश्वरी पाण्डे, जेलर राकेश पाण्डे, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक हरि खनालको अध्यक्षता सँगै अभियान्ता दिवशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला कारागार कपिलवस्तुको सहयोगमा स्थापना गरिको पुस्तकालयमा अब कैदीबन्दीहरुले आफ्नो सकारात्मक सोचको विकास र असल जीवनयापनका लागि राखिएका पुस्तकहरुबाट ज्ञान हासिल गर्नेछन् ।
विभिन्न जिल्लाका दशवटा सामाजिक संस्थाहरुको समन्वय र सहयोग सहित सुरु गरिएको यो अभियानमा अभियान्ताहरु गौरव पौडेल, आरती अर्याल, सुनिता वेल्वासे र असिम भट्टराईले केही महिना अघि चिया गफमा यो याजना बनाएको बताएका छन् । अभियानको दोस्रो पुस्तकालय स्थापना अब अर्घाखाँची जिल्लाको कारागारमा गर्ने योजना बनेको पनि अभिन्ता दिवस पौडेलले जानकारी दिनुभएको छ । यो अभियानलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने पनि उनीहरुको योजना रहेको अभियानताहरुले बताएका छन।