
काठमाडौं । हिन्दु नेपालीहरुको दशैंपछिको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ । कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।
आज विहानको समयमा कृष्ण चतुर्दशीको तिथि भएपनि दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । तसर्थ आज साँझ लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताए ।
समितिका अनुसार आइतबार बिहानसम्म औंसी तिथि रहने भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले निर्णय गरेको हो ।