बन्दना राणा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघीय समिति ‘सिड’ मा पुनः निर्वाचित

|

नेपालकी बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित भएकी छिन् । राष्ट्रसंघीय ‘महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता’ (सीईडीएडब्लू) समितिमा नेपालको तर्फबाट १३७ भोट ल्याएर विजयी भएकी हुन् ।

अधिकारकर्मी राणाले विगतमा नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । त्यस्तै गैरसरकारी संस्थामा रही महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी छन् ।

राणाले सिडमा रहेर काम गर्ने क्रममा विश्वका विभिन्न देशमा महिला अधिकार तथा उनीहरुमाथि हुने हिंसाको अवस्थाबारे नजिकबाट थाहा पाउने अवसर पाएकी छिन् ।

यसअघि पनि राणा उक्त संस्थाको सदस्य थिइन् । सन् २०१७ देखि २०२० सम्मको कार्यकालका लागि निर्वाचित भएकी राणाको उक्त कार्यकाल यही ३१ डिसेम्बरमा सकिदै थियो । तर अब १ जनवरी २०२१ देखि दोस्रो कार्यकाल शुरु हुनेछ ।

समितिमा ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो, जसलाई १८९ सदस्य राष्ट्रहरूले मतदान गरेका थिए ।

निर्वाचित भएपछि राणाले फेसबुकमार्फत उक्त समितिमा आफू अझै प्रतिबद्ध र जिम्मेवार भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध लागिपर्ने प्रतिबध्दता सहित सबै मतदाता देशलाई धन्यवाद दिएकी छन् ।

२०७७ कार्तिक २४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।