भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा

|

काठमाडौँ  / नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्‍नेका लागि मकर लग्‍न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्‍चालकले भने साइतमै टीका लगाउनुपर्ने र  सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

यस वर्ष यमपञ्‍चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते  काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते  बिहान नरक स्‍नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि ‌औँसी तिथि लाग्‍ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्‍नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते  गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।  आइतबार बिहान ११ : २७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

२०७७ कार्तिक २४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।