नेपाल टेलिकमलाई गुणस्तर भरपर्दो सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको निर्देशन

|

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

मन्त्री भएपछि पहिलो पटक बिहीबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा उनले मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौता अनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न पनि सचेत गराए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन पनि नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्नैपर्ने स्पष्ट पारे ।

मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौंता अनुसार नेपाल टेलिकमले वडा तहसम्मै इन्टर सेवा पुर्याउन ढिलाई गर्नु हुन्न मन्त्री गुरुङले भने,ग्राहकको चाहनालाई ध्यानमा राखेर सबैभन्दा सस्तो र गुणस्तरीय सेवा नदिए नेपाल टेलिकमले निजी क्षेत्रसँगको प्रतिपर्धामा आफूलाई अग्रणी कायम राखिरहन सक्दैन ।

मन्त्री गुरुङले नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरुले नयाँ कार्य योजनाका साथ अघि बढनुपर्ने बताए । मन्त्री गुरुङले सरकारी संस्थाहरु भ्रष्टाचार लगायतका गलत कार्यका कारण धरासायी बन्दै गएको उल्लेख गर्दै त्यसो हुन नदिने दृढता व्यक्त गरे ।

उनले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रित हुन पनि टेलिकमका पदाधिकारीहरुलाई सचेत गराए ।

साथै समृद्ध नेपाल ,सुःखी नेपाली को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई पनि आग्रह गरे ।

सो अवसरमा मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा खुसीयाली आउने गरी काम गर्न टेलिकमका कर्मचारीहरुलाई आग्रह गरेका थिए भने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको विगत, वर्तमान र भावी योजनाबारे सञ्चारमन्त्री गुरुङलाई ‘ब्रिफिङ’ गरेका थिए ।

२०७७ कार्तिक २०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।