
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिकको रक्षाका लागि व्यक्ति होइन राज्य बलियो हुनुपर्ने
बताउनुभएको छ ।
‘शक्तिशाली मुलुकहरुबाट शिक्षा पाइएको छ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ, नेपाल टेलिभिजनको बारेमा जानकारी लिने क्रममा नेपाल टेलिभिजन सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो ।
सरकारले चलाएको उद्योग टाट पल्टने, त्यही उद्योग व्यक्तिले चलाउँदा फाइदामा जाने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘व्यक्ति चाहिँ शक्तिशाली हुने, राज्य कमजोर हुने । यो अवस्था राम्रो होइन । यस्तो खालको भाइरस सरकारी निकायमा भए बेलैमा डाइलोसिस् गर्नुपर्छ ।’
सञ्चार क्षेत्रको विकासमा क्रान्ति भएजसरी नै समाचारमा विश्वसनीता समेत बढाउनुपर्ने उहाँको विचार थियो ।
‘राजनीतिक क्रान्तिसँगै सञ्चार क्षेत्रमा पनि क्रान्ति भएको छ । विकास भएको छ । तर, मिडियाबाट आउने समाचारलाई भने जनताले कसरी लिएको छ ? कतिपय अन्योल, द्धन्द्ध सृजना गरेको छ कि भन्ने तर्फ गम्भीर हुनुपर्ने भएको छ’ मन्त्री गुरुङले भन्नुभयो ।
सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरुले कोभिड महामारीबाट शिक्षा लिएर संकटको समाधान गर्दै अघि बढ्नुपर्ने, नकारात्मकभन्दा समाज रुपान्तरणको काममा सहयोग पुग्ने सकारात्मक प्रस्तुतिमा ध्यान दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
विकास निर्माण लगायत कामहरु जनता समक्ष पुर्याई सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’को सपना पूरा गर्न नेपाल टेलिभिजनले अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सार्वजनिक सेवालाई जनस्तरमा पुर्याउने आधिकारिक र प्रभावकारी माध्यमको रुपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले जनताका आकांक्षा र भावना अनुसारका समाचार र कार्यक्रमहरु नेपाल टेलिभिजनले प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सुरुमा नेपाल टेलिभिजनको वर्तमान अवस्था र भावी कार्ययोजनाको बारेमा जानकारी गराउनुहुँदै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजन उच्च गुणस्तरको एचडी प्रविधिमा रुपान्तरण भएसँगै पहुँचमा विस्तार र विषयवस्तुको सुधारमा लागिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रम अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले नेपाल टेलिभिजनका विभिन्न कार्यक्रम उत्पादन एवं प्रसारण स्टुडियोहरुको अवलोकन गर्नुभयो ।
नेपाल टेलिभिजन राष्ट्रिय प्रसारण, एनटिभी प्लस, एनटिभी न्युज च्यानल, एनटिभी कोहलपुर र एनटिभी इटहरी गरी ५ वटा च्यानलहरु सञ्चालित छन् ।
मन्त्री गुरुङले मंगलबारै रेडियो नेपाल र रासस समेतमा पुगी जानकारी लिनुभएको थियो ।