नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन – महासचिव पौडेल

|

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको अन्तर्विरोधका कारण अन्ततः पार्टी विभाजनतर्फ उन्मुख भएको घटनाक्रमहरुले देखाउन थालेको छ ।

आइतबार दिउँसो अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पार्टीभित्र गम्भीर सङ्कट उत्पन्न भएको अभिव्यक्ति दिए । साथै उनले पार्टीभित्रको आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।

नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।

उनको त्यो अनुरोधसहितको अभिव्यक्तिले पार्टीभित्र कुनै दुर्घटना हुन लागेको सहजै आँकलन गर्न सकिन्छ ।

उनको यही कुरालाई पुष्टि गर्नेगरी आइतबार साँझ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को एउटा सनसनीपूर्ण तथ्यको पनि खुलाशा गरेका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टीभित्र विवाद अति धेरै भएको तथा आफूलाई कामै गर्न नदिएकाले अब फरक–फरक बाटो हिँड्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै सो कुरा बताएको प्रवक्ता श्रेष्ठको दाबी छ ।

प्रधानमन्त्री ओलीको सो प्रस्तावबारे प्रचण्डले आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेको प्रचण्डलाई उद्धृत गर्दै नेता श्रेष्ठले बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।

उनका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए ।

२०७७ कार्तिक १६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।