अफगानिस्तानमा फेरी आत्मघाती आक्रमण, १८ जनाको मृत्यु

|

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् ।अफगानिस्तानमा हिंसा बढेको छ ,अधिकांश आक्रमण तालिबान समूहले गरेको छ । शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो ।

इस्लामिक स्टेटले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै आक्रमणको जिम्मा लिएको छ ।गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस गरेका थिए । सुरक्षाकर्मीहरुले उसलाई चिनेर रोके । त्यसपछि त्यो व्यक्तिले भवनको ढोकामै विष्फोट गराएको थियो ।कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको बेला हिंसा भने रोकिएको छैन । यो पछिल्लो आक्रमण पनि त्यसैको असर हुन सक्ने बीबीसीले जनाएको छ ।

अफगानिस्तानका चरमपन्थी समूहले शिया समुदायलाई निशाना बनाउँदै आएका छन् । शनिबार शैक्षिक संस्थालाई लक्षित गरी भएको आक्रमण पहिलो भने होइन । सन् २०१८ को अगष्टमा भएको एक आक्रमणमा ४८ जना मारिएका थिए ।

२०७७ कार्तिक ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।