
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा यहि २०७७ असोज २९ गते साझा पार्टिका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो। आज साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय/केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेको र उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय/सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने विवेकशील नेपाली दलको संवाद समिति संयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।