बाँके / बाँकेको डुडुवा गाउँपालिकामा रहेका अधिकांश स्वास्थ्य चौकीमा आफनो कार्यालयले दिने सेवा सुविधा बारे स्थानीय नागरिलाई सहज तरिकाले सूचना प्रवाह गर्न बनाईने नागरिक वडा पत्र अझैसम्म नबनेको अनुगमन गर्दा फेला परेको छ । शुक्रबार सुचना र मानव अधिकार अनुसन्धान केन्द्रको संयोजनमा बाँकेको डुडुवाँ गाउँपालिकामा कोभिडको अवस्थामा स्वास्थ्य सेवाको प्रवाह कस्तो छ भनेर मानवअधिकारकर्मी र सन्चारकर्मीको एक संयुक्त टोलीले अनुगमन गरेको छ ।
कोभिड–१९ रोकथाममा डुडुवा गाउँपालिकाले अग्रणी भुमिका खेलेको स्वास्थ्य शाखाका प्रमुख धन बहादुर बुढाले जानकारी दिनुभयो । साथै उहाँले डुडुवा गाउँपालिकाले आफनै पहलमा बेतहनी र कम्दी स्वास्थ्य चौकीमा ल्याब सन्चालन गरिसकेको बताउनुभयो र छिटै नै हिरमिनिया स्वास्थ्य चौकीमा पनि ल्याब सन्चालन गरिने जानकारी गराउनुभयो ।
सो अनुगमन टोलीले डुडुवाको गाउँपालिका वडा नं.३ मा अवस्थित स्वास्थ्य चौकी र वडा नं.२ बेतहनी स्वास्थ्य चौकीमा अनुगमन गरेको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धन बहादुर बुढा र बेतहनी स्वास्थ्य चौकीका ईन्चार्ज हेमन्त शर्मा, हिरमिनिया स्वास्थ्य चौकीका प्रमुख भिम बहादुर बिक र होलिया स्वास्थ्य चौकीका प्रमुख कमल उपाध्यायसंग अनुगमन टोलीले छलफल गरेको छ । सो अनुगमन टोलीमा सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष एवं अधिवक्ता विश्वजित तिवारी, पूर्व जिल्ला बार अध्यक्ष केवलसिंह थारु, उदयराज बर्मा, डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य रिता परियार, नागरिक दैनिक पत्रिकाका पत्रकार कमल खत्री, द र्वल्ड नेपाल न्युजका सम्पादक सोम गुरुङको सहभागिता रहेको थियो ।