सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न मन्त्री गुरुङले भन्नुभयो ।
सञ्चार मन्त्रालयमा आज आयोजित स्वागत समारोहमा उहाँले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस सङ्कटमय घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौं बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने समेत बताउनुभयो ।
कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताउनुभयो ।
आफूले अहिले नै निर्देशन दिन नचाहेको तर निकट भविष्यमै सबै निकाय र विभागबाट जानकारी लिएपछि सरकारको दृष्टिकोण र निर्देशन प्रस्तुत गरिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उहाँले बताउनुभयो। ।
‘सरकारका कामसम्बन्धी सहीसही सूचना तत्काल र व्यवस्थित ढङ्गले एकद्वार प्रणालीबाट जनसमक्ष पुर्याउन सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृतिविसङ्गतिलाई हटाउन पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसंग पनि सहकार्य गरिनेछ र विभिन्न मन्त्रालयका प्रवक्तासँग मिलेर काम गरिने छ मन्त्री गुरुङले भन्नुभयो ।
यसअघि मन्त्री गुरुङले नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।
यसैगरि सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयसम्बद्ध १८ विभाग र निकायबारे जानकारी प्रस्तुत गर्दै मन्त्रालय परिवारका तर्फबाट नवनियुक्त सञ्चारमन्त्री गुरुङको निकट विगतको अनुभव कार्यदक्षता र स्पष्ट निर्णय गर्ने क्षमताले मन्त्रालयका कार्यसम्पादन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।