१ मिलियन अमेरिकी डलर राशीको हल्ट प्राइज प्रतियोगिता पक्लिहवा कृषि क्याम्पसमा हुदै

|

काठमाडौँ / सृजनशीलता र नयाँ आविष्कारको खोजलाई अँगाल्द्दै आइ.ए.ए.एस पक्लिहवाको हल्ट प्राइजले १२ अक्टोवर २०२० मा विद्यार्थीहरुका लागी भर्चुअल अभिविन्यस कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम विद्यार्थीहरुलाई हल्ट प्राइज, यसको स्थापना, उद्देश्य र विश्व परिवर्तनमा यसको भूमिकासँग परिचित गराउने हेतुले गरिएको थियो।
विद्यार्थीहरुलाई यस कार्यक्रमसंग जोड्न हल्ट प्राइज फाउन्डेशनका २०२०/२१ नेपालका लागि कम्युनिटि विल्डर सुसान डंगोल, २०१९ का शीर्ष १० क्याम्पस निर्देशक र यस वर्षका एक्सेलेटर प्रोग्राम भोल्युन्टर एल जीले हल्ट प्राइजका बारेमा अन्तरदृष्टि प्रदान गरेका थिए।

लुम्बिनी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष नारायण प्रसाद भट्ठराई प्रमुख अतिथीका रुपमा रहनुभएको थियो । त्यसै गरि अतिथिमा कृषि र पशु विज्ञान अध्ययन संथानका सहायक डिन डा.किशोर दाहाल (पि.एच.डि) र अतिथीका रुपमा पक्लिहवा क्याप्सका सहायक प्रमुख डा.पुष्प राज पौडेल (पि.एच.डि) र डा.अर्जुृन चापागाई (पि.एच.डि) का साथै सहायक प्राध्यापक दिपक खनाल र तिलक कार्की रहनुभएको थियो ।

हल्र्ट प्राइज पक्लिहवाले सञ्चालन गर्ने हल्र्ट प्राइज इभेन्टमा पक्लिहवा क्याम्पस, रुपन्देही बहुमुखी क्याम्पस र साई ग्लोबल कलेजका विद्यार्थीहरुले भाग लिन पाउने सुसन डंगोलले जानकारी दिनुभयो। यस कार्यक्रममा भाग लिनका लागि विद्यार्थीहरु ३–४ जना समावेश गरि समूह दर्ता गराउनु पर्ने छ। हल्ट प्राइज पक्लिहवा कयाम्पस निर्देशक विपिन रिजालले अब चाडैँ नै दर्ता फारम उपलब्ध गरिने बताउनु भयो।

विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस, रुपन्देहीमा आयोजना हुने भएको छ । पक्लिहवा कृषि क्याम्पसमा कृषितर्फ स्नातक तह अध्ययनरत विद्यार्थी बिपिन रिजाल ‘हल्ट प्राइज’ पक्लिहवा क्याम्पसको निर्देशक छनोट भएसँगै कृषि क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने र आफु उद्यमी बन्ने सपना पुरा गर्ने ढोका खुलेको हो ।

कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्तरुपमा आयोजना हुँदै आएको छ । डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको लागि तयारी सुरु गरिएको विद्यार्थी बिपिन रिजालले बताए । गत वर्ष काठमाडौँ विश्वविद्यालय र पुल्चोक क्याम्पस लगायत देशभर गरी २० वटा क्याम्पसमा यो कार्यक्रम भएको थियो । खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले विभिन्न शीर्षक छान्ने गर्दछन् । यस बर्ष पुर्व राष्ट्रपति बिल क्लिन्टनले तोके बमोजिम “Food for Good” विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट समूहले १० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको अमेरीकामा हुने फाइनल राउण्डमा सहभागी हुन सुरुमा आफ्नो क्याम्पस वा युनिभर्सिटीमा आयोजित कार्यक्रममा अध्यनरत विद्यार्थीहरुले आफ्नो विचार राख्नेछन् र सो कार्यक्रमको निर्णायक मन्डलले बिजेतालाई अर्को चरणमा पठाउने गर्दछन् र थप विभिन्न राउन्डमा छनोट हुँदै जानु पर्नेछ । प्रतियोगिताले विद्यार्थीहरुमा रहेका इनोभेटिव आइडियालाई व्यवसायिक र सामाजिक उद्यमशीलताको रुपमा विस्तार गर्न ठूलो योगदान दिने र विद्यार्थीहरुको उद्धमशीलताको क्षेत्रमा नविनतम सोच विचार र विकास गर्न टेवा पुर्याउने आशा ‘हल्ट प्राइज पक्लिहवा क्याम्पस’ को रहेको छ ।

धेरै विद्यार्थीको सहभागिताको लागि क्याम्पसमा हल्ट प्राइजबारे जानकारीमूलक कार्यक्रमहरु हल्ट प्राइज पक्लिहवा क्याम्पसद्वारा आयोजना गरिने क्याम्पसले जनाएको छ । यसको सुरुवात क्याम्पस तथा युनिभर्सिटीमा पढ्दै गरेका विद्यार्थीहरुलाई उद्यमशिल बनाएर समाज कल्याणमा सहयोग गर्ने लक्ष्यका साथ २०१० मा अहमद असकार र उनको टिमले मिलेर गरेका थिए । यस अभिमुखीकरण कार्यक्रमसँगै हल्ट प्राइज पक्लिहवाले नवीनता र रचनात्मक रुपान्तरणको नयाँ यात्रा प्रारम्भ गरेको छ ।

२०७७ आश्विन २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।