
कपिलवस्तु / ख्याल बगालले कपिलवस्तु जिल्लाबाट राष्ट्रव्यापी युवा भेटघाट कार्यक्रमको सुरुवात गरेको छ । कोभिड–१९का कारण युवाहरू अनावश्यक रुपमा महत्वपूर्ण समय ब्यतित गर्ने भएकोले थारू युवाहरुलाई सृजनात्मक र रचनात्मक कार्यमा अग्रसरता दिन प्रोत्साहन गर्न युवा भेटघाट कार्यक्रमको सुरु गरिएको छ । थारू समुदायमा थुप्रै विषयवस्तुहरू खोज अनुसन्धान र दस्तावेजीकरण गर्न बाकी रहेकोले युबा भेटघाट कार्यक्रमलाई प्रशिक्षण शैलीमा अगाडी बढाउदै लगिएको छ । थारू समुदायका युवाहरू नेपालको संविधानका विषयमा अझैपनि बेखबर रहेकाले संविधान लगायत ऐन कानुनका विषयमा प्रशिक्षण दिईरहेको आयोजक संस्थाले बताएको छ ।
थारू समुदाय भित्र विविध सांस्कृतिक क्षेत्रीय विविधता रहेकाले यस युवा भेटघाट कार्यक्रमले सबै जिल्लामा बसोबास गर्ने थारू समुदायको कला,भाषा, संस्कृति,चाडपर्वका बारेमा सुक्ष्म रुपमा बुझ्न र अध्ययन गर्न र अभिलेख संकलन गर्न सजिलो हुने अपेक्षा लिईएको छ । सो कार्यक्रमको प्रमुख अतिथि थरुहट थरुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारु, अतिथिहरुमा थरुहट थरुवान राष्ट्रिय मोर्चाको कैलाली संयोजक माधव चौधरी, करूणा डेभलपमेन्ट फाउन्डेसन रूपन्देहीका प्रबन्ध निर्देशक प्रेम नारायण चौधरी र मुक्त कमलरी अभियन्ता विष्णु चौधरी लगायतको सहभागीता रहेको थियो ।
कोभिड–१९ महामारीको बीच स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि कार्यक्रम भएको छ । तराईका थारु जातिको बाहुल्यता रहेको सम्पूर्ण जिल्लामा यो कार्यक्रम सञ्चालन गरिने ख्याल बगालका अध्यक्ष सबि थारुले जानकारी दिए । सो कार्यक्रममा सहभागी स्थानीय थारु युवा जो स्नातक उतिर्ण हुनु पर्ने र जिल्लाको प्रत्येक स्थानीय तहबाट १ महिला १ पुरुष सहभागी हुने प्रावधान रहेको आयोजक संस्था ख्याल बगालका महासचिव प्रणव आकाशले बताए ।
रास्ट्रव्यापी युवा भेटघाट कार्यक्रम सुर्खेत सहित २३ वटै जिल्लामा आयोजना गर्ने कार्यक्रमको तय भएको छ । ख्याल बगालले नेपालको आदिवासी जनजाति समुदायको विभिन्न बहस कार्यक्रम मार्फत सवाल र मुद्दा उठान गर्दै आइरहेको छ । साथै ख्याल बगालले ई–लाइब्रेरीका लागि आदिवासी जनजातिसङ्ग सम्बन्धित कुनै पनि लेख,रचना, फोटो, चित्रकला khyalabagal@gmali.com मा पठाउन अपिल गरेको छ।