बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा ‘नागरिक सहायता कक्ष’

|

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा नजिकिंदै गरेका नेपालीहरुको ठूला चाडवाडलाई मध्येनजर गर्दै सर्वसाधारणको सुरक्षा एवं सहजताका लागि सोमबारदेखि नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय जमुनाह तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टसमेतको संयुक्त सहभागितामा उक्त सहायता कक्ष संचालनमा ‘नागरिक सहायता कक्ष’को स्थापना गरी संचालनमा ल्याएको छ ।

दशैं, तिहार, छठ तथा मोहम्मद डे जस्ता ठूला चाडवाडहरुलाई मध्येनजर गर्दै भारतबाट नेपाल भित्रिने नेपालीहरुको सुरक्षा एवं हुनसक्ने सम्भावित चोरी, लुटपाट, कुटपिट तथा दुर्घटना आदिबाट जोगाउनका लागि सिमा नाकामा नागरिक सहायता कक्षको स्थापना गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

चाडवाड मनाउनका लागि भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीहरुलाई सिमाक्षेत्रमा कुनै अप्ठ्यारो महशुस हुन नदिन तथा चाडबाडको समयमा हुन सक्ने सम्भावित लुटपाट चोरी जस्ता आपराधिक क्रियाकलाप हुन नदिन आवश्यक सुरक्षा व्यवस्थाका साथ नागरिक सहायता कक्षको स्थापना गरी संचालनमा ल्याइएको प्रहरी उपरीक्षक रानाले स्पष्ट पारे ।

बाँकेको जमुनाह नाका हुँदै भारतबाट लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश समेतका हजारौं सर्वसाधारण नेपाल भित्रिने गर्दछन । चाडबाडका समयमा यसअघि सिमानाका आसपास क्षेत्र तथा नागरिक सवार गाडीभित्रै नशालु पदार्थ सेवन गराएर नेपालीहरुलाई लुटपाट तथा कुटपिटका घटनाहरु घट्ने गरेका थिए ।

२०७७ आश्विन २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।