डा. केसी ले तोडे २८ औँ दिनमा अनशन

|

अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोड्नु भएको छ । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोड्नु भएको हो ।

उहाँलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाउनुभयो ।

अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिनुभयो । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाउनु भएको थियो ।

सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाउनु भएको थियो, उहाँ प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुनुहुन्छ ।

डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थाल्नु भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।
सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।

२०७७ आश्विन २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।