
बाँके / बाँकेमा सोमबा्र एकैदिन ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबार एकैपटकमा बाँकेका ७० जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । लकडाउन खुलेसङ्गै होटेल, रेष्टुरेन्ट, यातायात लगायतका बजार क्षेत्र खुलेसङ्गै कोरोना संक्रमण पनि उल्लेख्य रुपले वृद्धि भइरहेको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार बाँकेका विभिन्न स्थानका ३१ महिला र ३९ पुरुष गरी ७० जनामा कोरोना संक्रमण देखिएको हो । उनका अनुसार आज संक्रमित हुनेहरुमा डाक्टर, सेना, एक निजी प्रयोगशालाका संचालक लगायत रहेका छन ।
श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा २४ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा १२ गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार १ सय २० पुगेको छ । जसमध्ये, २१ जना संक्रमितको ज्यान गइसकेको छ भने १ हजार ६ सय ५० संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन ।