४ दिने दोस्रो अन्तर्राष्ट्रिय तमू सम्बाद शृंखला हुँदै

|

आउने शुक्रबारबाट दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्वाद शृंखला आयोजना हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यस पटकको सम्वाद शृंखला भर्चुअल (जुममार्फत) गर्न लागिएको हो । कार्यक्रमबारे जानकारी दिन शनिबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो । शनिबार बेलुका अन्तर्राष्ट्रिय तमु (गुरुङ) परिषदले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनको तमु (गुरुङ) संचारकर्मी संघले संयोजन गरेको हो ।

शुक्रबारबाट चार दिनसम्म (९ देखि १२ अक्टोबरसम्म) चल्ने सम्वाद शृंखलामा विभिन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । साँझ पाँच बजे पहिलो र सात बजेबाट दोस्रो सेसन सुरु हुने छ ।अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद्को आयोजनामा गत वर्ष काठमाडौंमा पहिलो तमू सम्बाद आयोजना गरिएको थियो । देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायविच निरन्तर सम्बाद र ज्ञान सीप बाड्ने उदेश्यले तमू सम्वाद सृंखलाको आयोजना गर्न लागिएको गुरुङ समुदायको छाता संस्था तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।‘हामीले यो शृंखलाको आयोजना गर्न सुरु गरेको दोस्रो वर्ष मात्रै भएको छ । आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर आयोजना हुने छ’, अध्यक्ष गुरुङले भने, ‘आगामी वर्ष अरु देशमा पनि यो कार्यक्रमको आयोजना गरिने छ ।’

उनकाअनुसार यो सम्वाद सृंखलामा विभिन्न ३५ देशबाट गुरुङ व्यक्तीत्वहरु सहभागी हुने छन् । त्यसमध्ये धेरैले कार्यक्रम सञ्चालनमै भाग लिनेछन् । सम्बादको प्रत्येक दिन फरक विषयमा दुई सेसन सञ्चालन हुनेछन् । पहिलो दिनको पहिलो सेसनमा ‘ङै नासा ट्हो’ अर्थात मेरो गाउँघर भन्ने शिर्षकमा छलफल हुनेछ । यो शिर्षकमा १८ जना वक्ताले आफ्नो प्रस्तुती दिने छन् । पहिलो दिनको दोस्रो सेसनमा तमू भाषा र साहित्य शिर्षकमा छलफल हुनेछ । यो शिर्षकमा भाषाविद् रत्नबहादुर गुरुङको प्रस्तुती रहनेछ । यसमा सिक्किम भारतबाट मेघराज गुरुङले टिप्पणी गर्नेछन् ।

शनिबार हुने दोस्रो दिनको पहिलो सेसनमा तमू (गुरुङ)हरुको सफलताको यात्राबारे छफफल हुनेछ । यो शिर्षकमा अमेरिकाबाट डा. टोपराज गुरुङ, भारतबाट गोपाल गुरुङ र नेपालबाट लालकुमारी गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । दोस्रो दिनको दोस्रो सेसनमा तमू चलचित्रबारे गुरुङ चलचित्र संघ, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसमा नविन सुब्बाको टिप्पणी रहनेछ ।तेस्रो दिनको पहिलो सेसनमा विदेशी विद्वानहरुले गुरुङ समूदायको बारेमा आफ्नो धारणा व्यक्त गर्नेछन् । यसमा जापानबाट नानको योशिमोतो, बेलायतबाट साइमान स्ट्रिकल्यान्ड र आलन माकफार्लनले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दोस्रो सेसनमा गुरुङ समुदायको परम्परागत ज्ञान र सिपको बारेमा छलफल हुनेछ । यो शिर्षकमा मानवशास्त्री पोलबहादुर गुरुङ र लिलबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।अन्तिम दिनको पहिलो सेसनमा तमू उद्यमी/व्यवसायी शिर्षकमा छलफल हुनेछ । यो शिर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, जापानबाट ओम गुरुङ र गण्डकी ट्राउटका लक्षिन गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।त्यसपछिको अन्तिम सेसनमा औपचारिक कार्यक्रमको आयोजना भएपछि दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद सम्पन्न हुनेछ ।

२०७७ आश्विन १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।