बाँके / कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-९ का ४७ बर्षीय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि उनको भदौ २९ गते नमुना संकलन गरिएको थियो । र, ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनलाई मेडिकल कलेज कोहलपुरको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएका उनलाई रेमडिसिभिर र प्लाज्मा समेत दिइएको थियो । तर त्यसले समेत स्वास्थ्य अवस्था सुधार नभएपछि उनको आइतवार विहान ५ बजे मृत्यु भएको कोहलपुर मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले जानकारी दिनुभयो । लामो समयसम्म मधुमेह रोगबाट पीडित उनको भाइरस संक्रमण भएपछि दुवै फोक्सोमा निमोनिया समेत भएको चिकित्सकहरुले बताएका छन् ।
योसँगै बाँकेका भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।