दिवंगत पत्रकारको स्मृतिमा स्थापित सम्मानबाट सञ्चारकर्मी पुरस्कृत

|

काठमाडौं । नेपाल टेलिभिजनका सञ्चारकर्मी टेलिभिजन जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । अन्य बरिष्ठ सञ्चारकर्मी समेत सम्मानित भएका छन् । १४ वर्षअघि ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा दिवंगत समाचारकर्मीहरु हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा उक्त पुरस्कार स्थापना भएको हो । नेपाल पत्रकार महासंघ टेलिभिजन प्रतिष्ठान शाखाले उहाँहरुका सम्झनामा साथै अन्य दिवंगत पत्रकारको स्मृतिमा स्थापित सम्मानबाट विभिन्न सञ्चारकर्मीलाइ पुरस्कृत भएका हुन् ।

हेमसुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार २०७७ नेपाल टेलिभिजनका किशोर निरौला र क्यामेरा पर्सन टेकबहादुर खड्कालाई प्रदान गरियो । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उहाँहरुलाई पुरस्कृत गर्नुभयो । पुरस्कारको राशि ५१ हजार रुपैया रहेको छ ।कार्यक्रममा राजेन्द्रदेव आचार्य स्मृति सम्मानबाट समाचार महाशाखाका निर्देशक मनोहरि थापा, जयप्रकाश स्मृति सम्मान कार्यकारी निर्माता नीता सापकोटा, शशि चालिसे स्मृति सम्मान कार्यकारी क्यामेरा पर्सन अरविन्द आचार्य, र वीरेन्द्र कार्की स्मृति सम्मान वरिष्ठ दृश्य सम्पादक दीपकजंग हमाललाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी अग्रज पत्रकार सम्मान प्रमुख सामाचार सम्पादक महाप्रसाद लामिछाने, कार्यकारी समाचार सम्पादक सतीशचन्द्र पौडेल, कार्यकारी क्यामेरापर्सन मोहन घिमिरे र वरिष्ठ कार्यक्रम निर्माता नारायण श्रेष्ठलाई प्रदान गरियो । पुरस्कार वितरण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नराम्रा कुराको उजागर गर्दै सकारात्मक कामको संरक्षण र प्रचार गर्ने तर्फ सञ्चार माध्यम लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा पुरस्कार छनौट समितिका सदस्य वरिष्ठ पत्रकार बबिता बस्नेतले १२ वटा प्रतिस्पर्धी सामग्रीबाट नुवाकोट र रसुवाको सीमामा हिमपातका समयमा गरिएको सामग्री पुरस्कृत भएको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालले पुरस्कारले पत्रकारलाई जिम्मेवार बन्न प्रेरणा दिने बताउनुभयो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परि तत्कालीन वन राज्यन्त्री गोपाल राई भूगोलविद् डा हर्क गुरुङ सहित नेपाल टेलिभिजनका सम्वाददाता हेमराज भण्डारी र क्यामेराम्यान सुनिल कुमार सिंह गरि २४ जनाको निधन भएको थियो ।

२०७७ आश्विन १०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।