प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा पत्रकार गोपाल बुढाथोकी नियुक्त

|

काठमाडौँ । बरिष्ठ पत्रकार गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालको  कार्यवाहक अध्यक्ष नियुक्त हुनुभएको छ । काउन्सिल सञ्चालक समितिको शुक्रबार बसेको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको हो ।काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गर्नुभएको छ । श्रेष्ठले शुक्रबारै बोर्डसमक्ष दिनुभएको राजीनामा स्वीकृत गरिएको हो ।

तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । काउन्सिल सदस्यमा भने श्रेष्ठ यही असोज १२ गतेपछि विदाई हुनेछन् ।

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।