बाँके/ प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले खजुरा र जानकी गाउँपालिका किशोरीहरुलाई छुट्टाछुट्टै रुपमा दुई दिने साइबर सुरक्षाबारे तथा उद्घोषण तालिम प्रदान गरेको छ । स्याकले जानकी गाउँपालिकाका १२ जना किशोरीहरुलाई दुई दिने साइबर कानुन तथा सामाजिक सञ्जालमार्फत लेख प्रकाशन प्राविधिक तालिम पनि दिएको छ । सञ्चारकर्मी तथा नेपाल युवा परिषद् प्रदेश नं.५ का संयोजक सोम गुरुङले तालिम दिएका थिए । तालिममा सामाजिक सञ्जालको प्रयोग, यसका फाइदा, बेफाइदा, सामाजिक सञ्जालमा स्टाटस लेख्दा अपनाउनु पर्ने सुरक्षाको विधिहरु सिकाइएको थियो ।
स्थानीय तहमा गठन भएका किशोरी क्लबका सदस्यहरुले सञ्चालन गर्ने कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उद्घोषणको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराएर कक्षा सञ्चालन गरिएको थियो । खजुराको लगनशील किशोरी क्लब र जानकीको सिर्जनशील किशोरी क्लबका पदाधिकारी र सदस्यहरु का १२/१२ गरी २४ जना मात्र सहभागी भएका थिए ।
२ मिटरको सामाजिक दुरी कायम गरेर सञ्चालन गरेको तालिममा सहभागीहरुलाई मास्क र सेनिटाइजर अनिवार्य गरि कार्यक्रम सन्चालन गरिएको स्याक नेपालका अर्मिला रोकायले जानकारी गराईन् । उद्घोषण तालिमको प्रशिक्षकमा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल र नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदीले सहजीकरण गरेका थिए ।