एसिड आक्रमणविरुद्ध सरकारले गरेका ऐतिहासिक निर्णय हरु

|
काठमाडौँ ।
सरकारले हरेक वर्ष भदौ २५ लाई एसिड आक्रमणविरुद्ध जागरण दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणमा परी घाइतेहरुको उपचारको समपूर्ण जिम्मा सरकारले लिने, भदौ २५ मा जागरण दिवस मनाउनेलगायत निर्णय गरेको हो । साथै यस्तो आक्रमणमा परी घाइते भएकाहरुको जीवनभरीको उपचारको जिम्मा समेत सरकारले लिने भएको छ ।
सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकास, शिक्षा र रोजगारीका लागि पनि सरकारले व्यवस्था गर्ने भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सीप विकासको अवसर मिलाउँदै योग्यता अनुसारको रोजगारी पनि उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
उक्त दिन प्रधानमन्त्री केपी ओलीले एसिड आक्रमण पीडितलाई भेट्नुभएको थियो । साथै १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्न सम्बद्ध निकायलाई निर्देशन समेत दिनुभएको थियो ।
मन्त्रिपरिषदले गत भदौ २५ मा प्रधानमन्त्रीले घोषणा गर्नुभएका कुरामा आधारित भई निर्णय गरेको हो ।
सरकारका निर्णयहरुको कार्यन्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिहरु सदस्य रहने गरी समिति गठन भएको छ ।
यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।
एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पु्र्याउने क्रममा सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ ।

२०७७ भाद्र ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।