बालविवाह रोक्नको लागि बाँकेका आठै वटा स्थानीय तहमा किशोरीले ज्ञापन पत्र बुझाए

|

नेपालगन्ज / बाँके जिल्ला बाल अधिकारको संरक्षण र प्रबद्र्धनको लागि पालिकास्तरीय किशोरी क्लबहरुको साझा सञ्जाल बाल विवाह विरुद्ध संगठित किशोरी क्लब सञ्जाल, बाँकेले आज राष्ट्रिय बाल दिवशको अवशरमा आठै वटा स्थानीय तह लगायत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापन पत्र बुझाएका छन् ।

सोमबाार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, बाँके प्रहरी प्रमुख ओम बहादुर राना, नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, कोहलपुरका मेयर लुट बहादुर रावत, जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनि कुमारी खत्री र डुडुवा गाउँपालिकालाई एकै दिन ज्ञापनपत्र बुझाईएको स्याक नेपालका कार्यक्रम संयोजक जगदिश थापाले जानकारी दिए । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल)ले बाँकेमा बालविवाह विरुद्धको अभियान सन्चालन गरिरहेको स्याक नेपालका विनिता रानाले जानकारी गराईन् ।

बाँकेमा गत वर्षको तुलनामा बाल विवाह न्यूनिकरणमा केही प्रयास देखिएता पनि कार्यान्वयनमा प्रयास नभएको भन्दै संजालले ज्ञापनपत्रमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । किशोरी संजालकी उपाध्यक्ष सृजना बुढामगर र सचिव चेतना क्षेत्रीको अगुवाईमा बुझाईएको ज्ञापनपत्रमा लकडाउन यता जिल्लामा ६९ वटा बाल विवाहका घट्ना घटेको उल्लेख छ । जिल्लाको नरैनापुर गाउँपालिकामा बाल विवाहका घट्ना घटेको भएपनि सो सूचना लुकाएको पाईएको ज्ञापनपत्रमा लेखिएको छ ।

ज्ञापन पत्र बुझनु हुदै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र उपमेयर उमा थापा मगरले बालविवाह विरुद्धको अभियानमा नेपालगन्ज उपमहानगरपालिका सक्रिय भई लागेका बताए । विगत लामो समय देखि यस सञ्जालले जिल्लाका समग्र बालबालिकाहरुको मुद्दाहरुमा रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ । नेपाल सरकारले जारी गरेको मूलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ११ को धारा १७३ मा विवाह सम्बन्धी कसुरमा बाल विवाह गर्न नहुने र विवाह गर्ने उमेर स्पष्ट लेखिएको छ । जिल्लाका करिब ३६ वटा किशोरी क्लबहरुको साझा सञ्जालको रुपमा रहेको यो किशोरी क्लब सञ्जालले जिल्लामा केही दिन यता बालवालिकाको सन्दर्भमा देखिएका समस्याहरुको बिषयमा तपशिलका माग सहित गरिएको छ । नेपालको जनगणनाको पछिल्लो तथ्याँक अनुसार बाँके जिल्लामा बाल विवाहको स्थिति भयावह देखिएको छ । जसमा ८०.२ प्रतिशत महिलाहरुको विवाह १९ वर्ष देखि मुनि हुने गरेको पाईएको छ ।

तपसील :
१) नेपालको प्रचलित कानुन विपरीत बन्दाबन्दीको समयमा विभिन्न तरीकाबाट बाल विवाहका घटनाहरु बढने प्रवृतिलार्ई रोक्दै कानुन विपरीत गतिविधिमा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने ।
२) जिल्ला स्थित ८ वटै स्थानिय सरकारले बाल विवाह न्युनीकरणका लागि कार्य योजना बनाई काम गर्नुपर्ने ।
३) जिल्ला स्थित सरोकारवालाहरुले विशेषगरि सबै स्थानीय सरकारहरुमा बाल विवाह विरुद्ध अभियान सञ्चालन गर्न सम्र्पक व्यक्ति (फोकल पर्सन) तत्काल तोक्नु पर्ने ।
४) स्थानीय सरकारले बजेट, नीति तथा कार्यक्रम बनाउने क्रममा सम्बन्धित सरोकारवालाहरुसँग आवश्यक सहकार्य गर्नुपर्ने ।
५) जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्नकालागि आवश्यक पहलहरु गर्नुपर्ने ।
६) महिला तथा बाल दुव्र्यवहारका घटनाहरुमा शुन्य सहनशीलताको अवधारणा लागु गर्नुपर्ने ।
७) जिल्ला स्थित सरोकारवालाहरुले बालविवाह रोकथामको विषयलाई प्राथमिकतामा राख्नुपर्ने ।
८) महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त/अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र विपद् जोखिम न्युनीकरण गर्नुकालागि पालिकाहरुमा संरक्षण विषयगत समन्वय क्षेत्र समिति गठन गर्न आवश्यक पत्राचार गर्ने र गठन भैसकेको पालिकाहरुमा क्रियाशीलताकालागि समन्वय, सहकार्य गर्ने ।

२०७७ भाद्र २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।