एसिड आक्रमणमा परेकी मुस्कान खातुनले प्रधानमन्त्री ओलीसँग भेटिन्

|

काठमाडौं ।  एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खातुनले प्रधानमन्त्री ओलीसँग भेटेको जनाएका छन् । भेटमा उनले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग गरेकी बताइएको छ ।

मुस्कानले आफ्नो स्वास्थ्यबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् । प्रधानमन्त्रीले प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने बताए। त्यसैगरी तेजाबपीडितहरूको सुझावका आधारमा कानुन हेरफेर गर्ने आश्वासन दिएका थिए ।

मुस्कान गत भदौमा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाइते भएकी थिइन् । एसिड प्रहार गर्ने २ युवक प्रहरीको नियन्त्रणमा छन् । स्वदेश तथा विदेशका चर्चित कलाकार, खेलाडी तथा विभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल र प्रत्यक्ष प्राप्त शुभकामनाले आफूमा हौसला र उत्साह थपिएको मुस्कानले बताएकी छन् । उनी अहिले उपचारपछि स्वस्थ भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुको गुनासोप्रति चासो देखाएका छन् । एसिड आक्रमणमा परेका पीडितहरुको पक्षमा निरन्तर पैरवी र उपचारमा सहयोग गर्दै आएका उज्वलविक्रम थापा र मुस्कान खातुनसहितको टोलीसँगको भेटमा प्रधामन्त्री ओलीले एसिड आक्रमण रोक्न छुट्टै कानुन बनाउने आश्वासन दिए ।

२०७७ भाद्र १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।